एजेन्सीको सहयोगमा सुदिप पौडेल,असार २० गते, काठमाण्डौं ।आतंकवाद अन्त्यका विषयमा छलफल गर्न भारत र पाकिस्तानबीच आज विदेश सचिव स्तरीय बैठक बसिरहेको छ । भारतको राजधानी नयाँ दिल्लीमा जारी बैठकमा आतंकवाद अन्त्यका विषयमा छलफल हुने बताईएपनि मुम्बई आक्रमणमा पाकिस्तानी आतंकवादीको संलग्नतालाई भारतले मुख्य मुद्धा बनाउने तयारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बैठकमा लश्कर ए तोईबाका सदस्य मानिएका सैयद जबीउद्दिन अन्सारी विषयमा पाकिस्तानलाई जानकारी गराईने भारतीय अधिकारीहरुले बताएका छन् । मुम्बई आक्रमणसंग जोडिएका भनिएका अन्सारी अहिले भारतको हिरासतमा रहेका छन् । अन्सारीलाई रियासत अलिको नामबाट पाकिस्तानले उपलब्ध गराएको पासपोर्ट र परिचयपत्रको प्रति र उनको सम्पर्कमा रहेका पाकिस्तानीहरुको सूची पाकिस्तानी प्रतिनिधिलाई बुझाईने अधिकारीहरुको भनाई छ ।
अन्सारीलाई पाकिस्तानले पासपोर्ट जारी गरेकाले मुम्बईमा सन् २००८, २६ नोभेम्बरमा भएको आक्रमणमा पाकिस्तानी सरकारी निकायको हात रहेको भारतले आरोप लगाएको छ । राष्ट्रिय परिचय पत्र अन्सारी जस्ता आतंककारीलाई कसरी दिईयो भन्ने विषयमा भारतले जवाफ माग्ने अपेक्षा गरिएको छ ।पाकिस्तानले भने अन्सारीसंग रहेको पासपोर्ट नक्कली भएको र उनी पाकिस्तानका नागरिक नरहेको दावी गर्दै आएको छ ।