असार २१, काठमाडौ । मानवअधिकारवादी अन्र्तराष्ट्रिय संगठन ह्युमन राईटस् वाचले बंगलादेशमा सन् २००९ मा भएको सीमा सुरक्षा बलको विद्रोहका क्रममा पक्राउ परेका ६ हजार सैनिक माथि लगाईएको सामुहिक मुद्धा रोक्न माग गरेको छ । पक्राउ परेकाहरुलाई यातना दिईएको संस्थाको आरोप छ ।
सन् २००९ मा बंगलादेशमा सीमा सुरक्षा बलका जवानले आफु भन्दा उच्च अधिकारीको तलब र काम गर्ने शैलीको विरोधमा गरेको विद्रोहका क्रममा ७० जनाको ज्यान गएको थियो । केही शंकास्पद सैनिकलाई करेन्ट लगाएर यातना दिईएको र हिरासतमा अहिले सम्म थप ४७ जनाको ज्यान गईसकेको ह्युमन राईटस् वाचले दावी गरेको छ ।
यातना पाएका केही सैनिकको मृगौला खराब भएको र केहीलाई प्यारालाईसिस भएको वाचको प्रतिवेदनमा उल्लेख छ । विद्रोहमा संलग्न भएको आशंकामा चार हजार भन्दा बढी सैनिकलाई जेलमा राखिएको छ भने अन्य दुई हजार सैनिक माथि पनि मुद्धा चलिरहेको छ ।
वाचका एशिया निर्देशक ब्राड एडम्सले दोषीलाई अपराधका लागि सजाय दिनु जायज भए पनि सामुहिक रुपमा अदालतमा हाजिर गराईनु, वकिल नपाउनु तथा दोषी मानिएका सैनिकले आफूमाथि लगाईएको मुद्धा र आफू विरुद्धको प्रमाणका बारेमा जानकारी नपाउनु गलत भएको बताउनुभएको छ ।
बंगलादेशका गृहमन्त्री सहरा खातूनले भने वाचको आरोप खण्डन गर्दै सैनिकमाथि चलाईएको मुद्धा सही भएको जिकीर गर्नुभएको बीबीसीले जनाएको छ ।