याहूले नयाँ सीईओ नियुक्त गर्‍यो
याहूले नयाँ सीईओ नियुक्त गर्‍यो
Added: 2012 July 17

एजेन्सीको सहयोगमा सुदिप पौडेल,श्रावण २ गते । टेक्नोलोजीसम्वन्धी विश्वको ठूलो कम्पनी याहूले गूगलका एक प्रमुख अधिकारीलाई आफ्नो नयाँ सीईओ नियुक्त गरेको छ । याहूले ३७ बर्षीया मरिसा मायरलाई नयाँ सीईओमा नियुक्त गरेको बिबिसिले जनाएको छ । याहूको सीईओमा नियुक्त भएपछि मरिसाले विश्वभरका ग्राहक र विज्ञापनदाताको अनुभवलाई अझ राम्रो बनाउन, नयाँ सेवा र विषयबस्तुमा परिर्वतन ल्याउन कम्पनीका कर्मचारीहरुसँग मिलेर काम गर्ने प्रतिक्रिया दिनु भएको छ । मरिसालाई चांडै नै याहूको बोर्ड सदस्य बनाइने बताइएको छ ।

मारिसा एक वर्षमा याहूमा तेश्रो सीईओ बनेकी हुन् । तत्कालिन सीईओ स्कट टमसनले आफ्नो अध्ययन प्रमाणपत्र विवादका कारण राजीनामा दिनु भएको थियो । पछिल्लो समय गूगल र फेसबुकका कारण याहूले निकै चुनौति सामना गर्नु परिरहेको छ ।

याहूको समाचार सेवा लोकप्रिय रहेपनि सर्च इन्जिन र इमेल सेवाका प्रयोगकर्ताहरु घट्दो छ । जसका कारण याहूको शेयरको मूल्यमा समेत गिरावट आएको छ ।

को हुन् मारिसा

मारिसा मायरले सन् १९९९ मा गूगलमा पहिलो महिला इन्जिनियरको रुपमा काम सुरु गर्नु भएको थियो । क्यालिफोनिर्याको स्टेनफोर्ड विश्वविद्यालयबाट कम्प्युटर साइन्स अध्ययन गर्नु भएकी मारिसा सुरुमा गूगलको २० औं कर्मचारी रहनु भएको थियो । गुगलको सर्च इन्जिन र कम्पनीको होम पेज बनाउन मारिसाको महत्वपूर्ण भूमिका छ ।

पछिल्लो दिनमा उनी गूगलको म्यापिङ सेवाका प्रमुख हुनुहुन्थ्यो । मारिसा टोक्नोलोजीसम्वन्धी ठूलो कम्पनीको सीईओ पदमा पुग्ने केही महिला मध्ये एक हुन् ।
 

सम्बन्धित समाचारहरु