साउन ११, काठमाडौ । एकीकृत नेकपा माओवादीको केन्द्रिय कार्यालयको बैठक वसिरहेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा जारीे बैठक पार्टी महाधिवेशन आयोजक समितिलाई पूर्णता दिने विषयमा केन्द्रित रहेको बुझिएको छ । यसैगरी हालै सम्पन्न सातौं बिस्तारित बैठकका निर्णय कार्यान्वयन अन्तर्गत शिर्ष नेताहरुको सचिवालयको टोली परिवर्तन, आर्थिक विभाग र लेखा शाखाको गठन लगायतका वारेमा पनि छलफल हुने प्रचण्डको नीजि सचिवालयले जनाएको छ । बिस्तारित बैठकमा अध्यक्ष प्रचण्डले आफू चढ्दै आएको गाडी फिर्ता गर्ने, लाजिम्पाटको निवास छाड्ने, सचिवालय परिवर्तन गर्ने लगायतका घोषणा गर्नुभएको थियो ।
त्यस्तै आर्थिक पारदशिर्ताका लागि आर्थिक विभाग र लेखा शाखा मार्फत काम गर्ने घोषणा पनि भएको थियो । कार्यालयको बैठकले टुंगो लगाएपछि महाधिवेशन आयोजक समितिको बैठक बस्ने माओवादीले जनाएको छ । एकीकृत माओवादीले आगामी माघमा महाधिवेशन गर्ने तयारी गरेको छ ।